newskoseli.Com

अर्थमन्त्री खतिवडा उडे भारततर्फ, विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुने

फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारत प्रस्थान गरेका छन् । अक्टोबर ३ र ४ (असोज १६ र १७) मा भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस क्रममा उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा आएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउने छन् ।

कार्यक्रमको सिलसिलामा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटवार्ता समेत गर्नेछन् । त्यस क्रममा उनले विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमणको अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाटको समेत कार्यक्रम तय भएको छ । दुई अर्थमन्त्रीबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ ।

अर्थमन्त्री डा. खतिवडा असोज १८ मा स्वदेश फर्कने कार्यक्रम रहेको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौड्यालले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर