newskoseli.Com

लिगलिगे ‘राजा’ बने पर्वतका अनिश थापामगर

पर्वतका अनिश थापामगर यस वर्ष पनि लिगलिगे दौड जितेर चौथो पटक गोरखाको दसौं ‘राजा’ बनेका छन् । यसअघि चार पटकसम्म लिगलिगे ‘राजा’ बन्न सफल पर्वतका अनिश बिहीबार भएको दसौं लिगलिगे दौड समेत जितेर चौथो पटक पनि ‘राजा’ बन्न सफल भएका हुन् ।

चेपे र मर्स्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेन्डमा पार गर्दै प्रथम भएर भारतीय सेनामा कार्यरत अनिश ‘राजा’ बन्न सफल भएका हुन् । यही दुरी १ घन्टा १ मिनेट ८ सेकेन्डमा पार गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र १ घन्टा १ मिनेट ३४ सेकेन्डमा पार गरी लमजुङका रामजी बस्नेत तेस्रो भएका छन् ।

दौडेर विजय हासिल गरी लिगलिगको राजा हुने परम्परालाई निरन्तरता दिन २०६७ देखि लिगलिगे दौड हुँदै आएको छ । विजेतालाई ‘राजा’ का रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे ‘राजा’ लाई यस वर्षदेखि एक दिनका लागि लिगलिगमा राखिसकेपछि एक वर्षका निम्ति पालुङटार नगरपालिकाको पर्यटन सद्भावना दूत समेत घोषणा गरिएको छ । प्रतियोगिता पालुङटार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंहदल गण (नेपाली सेना) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

प्रथम हुनेलाई समारोहबीच राष्ट्रियसभामा प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजा तथा पालुङटार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच र पगरीमा सजाउनुका साथै मेडल र प्रमाणपत्र प्रदान गरे । दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ तथा चौथो हुनेलाई १५ हजार एवं पाँचौं हुनेलाई १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकहरूले जनाएका छन् ।

त्यसैगरी, छैटौं हुनेलाई ७ हजार, सातौं हुनेलाई ५ हजार, आठौं हुनेलाई ४ हजार, नवौं हुनेलाई ३ हजार र दसौं हुनेलाई २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइएको आयोजकहरूको जनाएका छन् । सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिंहदल गणका प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर