newskoseli.Com

महराविरुद्ध रोशनी शाहीद्वारा किटानी जाहेरी : दसैंभित्रै निवर्तमान सभामुख पक्राउ पर्ने चर्चा

फाइल तस्बिर

बहालवाला सभामुख कृष्णबहादुर महराले निवासमै आएर आफूलाई बलात्कार गरेको आरोप लगाएकी संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शाहीले ‘बलात्कार प्रयास’ को अभियोगमा महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

पहिलो दिन महराविरुद्ध व्यापक होहल्ला गरी भोलिपल्टै अघिल्लो दिन आफैंले गरेको होहल्लाको ठीक विपरीत अभिव्यक्ति दिएकी शाहीले केही दिनको अन्तरालमा फेरि ‘महराले आफूमाथि बलात्कार प्रयास गरेको’ भन्दै श्रीमानसहित महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् । बिहीबार भने राेशनी दम्पतीबीच सम्बन्ध–विच्छेदकाे प्रक्रिया सुरू भएकाे चर्चा उनीहरूले चलाएका थिए ।

‘पीडित’ रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । उजुरी परेसँगै महरा दसैं पर्वभित्रै पक्राउ पर्ने सम्भावना बलियो भएको बताइँदैछ । उजुरीपछि महरा प्रकरणमा थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै सोमबार मिडियामा होहल्ला मच्चाएकी शाहीले मंगलबार भने आफ्नै अघिल्लो दिनको अभिव्यक्तिको खण्डन गर्दै ‘बुबासमानका महरा सरबाट त्यस्तो क्रियाकलाप सोच्नुसम्म पनि अपराध हुने’ बताएकी थिइन् । आफ्नै पूर्ववत अभिव्यक्तिको खण्डन गर्ने शाहीकाे दाेस्राे अभिव्यक्तिलाई उनले दबावमा परेर बोली फेरेको रूपमा कतिपयले टिप्पणी गरेका थिए ।

आफूविरुद्ध गम्भीर आरोप लागेपछि महरालाई सभामुखको उम्मेदवार चयन गर्ने सत्ताधारी नेकपाको ‘सुझाव’ का आधारमा उनले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए । आफू रोशनीको कोठामै नगएको दाबी महराले गर्दै आएका छन् तर प्रहरी अनुसन्धानबाट भने उनी रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको बताइन्छ ।

महरामाथि कारबाही गर्न चौतर्फी दबाब बढेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाए अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । उक्त छलफलपछि रोशनीले प्रहरीमा पुगेर किटानी जाहेरी दर्ता गरेको बताइन्छ ।

पक्राउ परिहाल्छन् त महरा ?

महराविरुद्ध अहिले प्रहरीमा किटानी जाहेरी परेको मात्रै हो । उजुरीकर्ता महिलाले पटक–पटक बयान फेर्दै आएकाले सर्वप्रथम प्रहरीले उनको जाहेरीमाथि नै छानबिन गरिरहेको बताइएको छ । कसुर भएको पर्याप्त आधार पाएको खण्डमा मात्र प्रहरीले महरालाई पक्राउ गर्नका निम्ति प्रक्रिया थाल्छ ।

पक्राउ गर्नुअघि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर पक्राउका निम्ति अनुमति लिन सक्छ । गम्भीर प्रकृतिको मुद्दा रहेको अवस्थामा तथा दोषी भाग्ने अवस्था रहेको खण्डमा भने विशेष पक्राउ पुर्जी जारी गरेर प्रहरीले पहिल्यै पक्राउ गरी त्यसलाई अदालतबाट पछि सदर गराउन पनि सक्छ । यसरी हेर्दा महरा तत्कालै पक्राउ पर्ने र नपर्ने सम्भावना बराबरी रहेको जानकारहरु बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर