newskoseli.Com

दुर्गापूजामा फिल्मको निहुँमा झडप : दर्जन घाइते, ५ को अवस्था गम्भीर, ५ पक्राउ

शम्भुनाथ नगरपालिका, सप्तरीमा दुर्गापूजामा फिल्म देखाउने विषयमा भएको विवाद चर्कंदै जाँदा भएको झडपमा एक दर्जन व्यक्ति घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका– १ स्थित खोक्सर प्रवाहमा दसैंको अवसरमा बनाइएको दुर्गापूजास्थल नजिकै प्रोजेक्टरबाट धार्मिक फिल्म देखाइएको थियो । कृष्णलीला, रामलीलाजस्ता धार्मिक फिल्म देखाउँदै आएकोमा मंगलबार राति केही युवाहरुले बलिउड फिल्म देखाउन दबाब दिए । त्यही विवादका कारण केहीबेर फिल्म प्रदर्शन रोकियो । सोही विवाद बढ्दै जाँदा भएको कुटाकुटमा एक दर्जन व्यक्ति घाइते भएका हुन् ।

घाइतेमध्ये ५ जनाको टाउकामा चोट लागेको छ । टाउकामा चोट लागेका खेमबहादुर कार्की, प्रमोद कोइलारा, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा धीरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की र देवसुन्दर यादव पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये वडा अध्यक्ष इनरदेव साह बुधबार रिहा भएका छन् भने चार जना प्रहरीको नियन्त्रणमै छन् । वडाअध्यक्षलाई सोधपुछका लागि मात्रै बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर