newskoseli.Com

नेपालमै पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको अन्वेषण सुरु

नेपाल र चीन सरकारसँग भएको सम्झौता अनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य सुरु हुने भएको छ । यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ, कुन भू–भागमा छ भन्ने कुराको निस्कर्ष निकालिने बताइएको छ ।

चीन सरकारको विशेषज्ञ टोली दसैंअघि दोस्रो पटक दैलेख आएको छ । उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धनलगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ । टोलीले प्रजिअ, दैलेखका सांसद, निर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौं फर्केको छ र दसैं सकिएलगत्तै काम सुरु हुने बताएको छ ।

असार २६ मा औपचारिक उदघाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करिव १५ दिन अनुसन्धान गरेर फर्केको थियो । उक्त समयमा दैलेखका विभिन्न भू–भागहरुको स्थलगत अध्ययन समेत गरिएको थियो । पुनः असोज दोस्रो सातामा टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिए ।

दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दसैंलगत्तै काठमाडौं आउने र सामग्रीसहित दसैंपछि टोली दैलेख आउने भएको अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उदघाट गरेपछि काम सुरु गरिएको हो । अन्वेषणका लागि दसैंपछि भौगर्भिक सर्वेक्षण, म्याग्नेट सर्भेलगायतका कामहरु हुने बताइएको छ ।

जमिनको पाँच किलोमिट मुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सक्ने भएकाले सोही अनुसार अनुसन्धान थालनी हुने भएको छ । यसपालिको अनुसन्धानबाट कति परिमाणमा भण्डारण छ भन्ने कुराको ठोस निष्कर्ष आउने र सोही अनुसार काम अगाडि बढाउने सरकारको तयारी छ ।

यो परियोजना परिणामुखी हुने र यसबाट नेपालको आर्थिक अवस्था सुधारसँगै समग्र दैलेख जिल्लाको विकासमा टेवा पुग्ने प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले बताए । जिल्लाका निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारले अन्वेषण कार्यका लागि सबै तह र तप्काबाट सहयोग गरेर अन्वेषणको काम सफल बनाउनेतर्फ अगाडि बढेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर