newskoseli.Com

उधारो पेट्रोलियमको पैसा माग्न जाँदा गोली हानी हत्या !

आफ्नै पैसा माग्न जाँदा जनकपुरधाममा बुधबार बिहान गोली हानेर एक जनाको हत्या गरिएको छ । बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित मुजेलियाका पंकज भनिने शङ्कर चौधरीले गोली प्रहार गरी जनकपुरधाम– १ का मनोज साहको हत्या गरेका हुन् ।

साहले चौधरीको घरमा गएर पैसा माग्दै ताकेता गरेपछि ‘घरमै आएर यसरी थर्काउने ?’ भन्दै आवेशमा आएर आफूले मनोजमाथि गोली प्रहार गरी हत्या गरेको शंकरले प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ ।

मृतक मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पुर्‍याइएको छ भने गोली प्रहार गर्ने चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ थान गोलीका साथै एक थान नलकटुवा पेस्तोल तथा त्यसका ३ राउन्ड गोली समेत बरामद गरेको छ ।

निर्माण व्यवसायी रहेका पंकजले मनोजको सपहीस्थित ‘शिव आयल स्टोर’ बाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । मनोजको पम्पबाट पंकजले करिव १७ लाख रुपैयाँको डिजेल लिएको प्रहरीले जनाएको छ । सोही रकममध्ये उनले तिर्न बाँकी झन्डै ८ लाख रुपैयाँ उठाउनका निम्ति ताकेता गर्न नै साह चौधरीको घरमा पुगेका थिए । त्यही मौकामा विवाद हुँदा चौधरीले गोली हानेर साहको हत्या गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर