newskoseli.Com

लक्ष्मीपूजाको दियो सल्कँदा लाखौंको क्षति : आगलागीबाट हप्तामै करोडभन्दा बढी क्षति

नेचासल्यान गाउँपालिका– २, सल्यान, कुमालगाउँ, सोलुखुम्बुको एक घरमा आगलागी भएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको घरमा आगलागी भई ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद १ लाख ५० हजार रुपैयाँ, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूजाकोठाबाट सुरु भएको आगोले जलेर ढुङ्गा–माटाले बनेको नेवारको तीनतले घरको पूजाकोठा नष्ट भएको छ । साँझ पौने ८ बजेदेखि सुरु भएको आगलागी स्थानीयवासी र प्रहरीको सक्रियतामा राति साढे बजे नियन्त्रणमा आएको थियो ।

तत्काल थाहा पाएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका– २ की वडा सदस्य समेत हुन् ।

एक हप्तामा करोडभन्दा बढी क्षति

पछिल्लो एक हप्तामा सोलुखुम्बुका तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ मा मात्रै सोही गाउँपालिका– १ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कन अनुसार कोइरालाको ९८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

यस्तै, कात्तिक ७ मा सोलुदूधकुण्ड नगरपालिका– ११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानस्थित खड्काको घर जलेर पूर्णरूपले नष्ट हुँदा ८५ लाख रुपैयाँ बराबरको क्षति भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर