newskoseli.Com

प्रधानमन्त्री ओली अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि बुधबारै राति वा बिहीबारसम्ममा उनी निवास फर्कने जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले भने– ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ ।’

पत्रकारका जिज्ञासाको जवाफ दिँदै डाइरेक्टर डा. पाण्डेले भने– ‘प्रधानमन्त्रीको उपचार गर्ने मुख्य डाक्टरमा प्रा.डा. दिव्यासिंह शाह हुनुहुन्छ, हरेक परीक्षणका नतिजाहरु आएपछि त्यसलाई डाक्टरको टिमले विश्लेषण गर्नेछ, प्रधानमन्त्रीको स्वास्थ्य भनेको देशका लागि जिज्ञासाको विषय हो, आत्तिनुपर्ने छैन, उहाँको अवस्था सामान्य छ ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओली भदौमा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्केका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर