newskoseli.Com

एउटै कलम बिक्यो १ लाख १ सय ५ रुपैयाँमा !

प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष १ लाख १ सय ५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले ‘चित्रगुप्त भगवान्’ को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट १ लाख १ सय ५ रूपैयाँमा बिक्री गरेको हो ।

राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका– ८ की रेखादेवी कर्णलाई उक्त कलम हस्तान्तरण गरियो । विगत ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रही आएकामा यस वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेको चित्रगुप्त सेवा समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए ।

यम द्वितीयाको नामले प्रसिद्ध कात्तिक शुक्लपक्षको द्वितीया तिथि भाइटीकाका दिन हरेक वर्ष चित्रगुप्तको पूजा गरिन्छ । ‘पाप र पुण्य’ को लेखाजोखा गर्ने ‘चित्रगुप्त महाराज’ को प्रतिरूप मानेर कलम र मसीको पूजा गरिने यस दिनलाई व्यापारीले नयाँ वर्षको प्रारम्भ मान्दछन् । पौराणिक मान्यताअनुसार, सृष्टिकर्ता ‘ब्रह्मा’ ले उत्पन्न गरेका ‘चित्रगुप्त महाराज’ लाई ‘पाप र पुण्य’ को लेखाजोखा गर्न ‘यमराज’ को दरबारमा नियुक्त गरिएको कुरा पद्मपुराणमा उल्लेख छ । चित्रगुप्तको विवाह सूर्यपुत्री यमीसँग भएको कथा छ । यमराज र यमी सूर्यका जुम्ल्याहा सन्तान हुन् । पछि यमी यमुना बनेको र पृथ्वीमा गएको कथामा उल्लेख छ ।

उक्त कार्यक्रममा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत ८ जना र स्नातक तहमा अध्ययनरत ४ जनालाई छात्रवृत्ति समेत वितरण गरियो । यसै अवसरमा बुधबार कायस्थ समुदायका १६ वर्षमुनिका बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर