newskoseli.Com

ट्रकसहित आएर कांग्रेसले दिउँसै लुट्यो वडा कार्यालय !

नमोबुद्ध नगरपालिका– ३ वडा कार्यालयका सामग्री लुटपाट भएको छ । भेंडाबारीस्थित वडा कार्यालयबाट बिहीबार दिउँसो सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ ।

नेपाली कांग्रेस समर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष रहेका नमोबुद्ध नगरपालिका– ३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०–२२ जनाको समूहले वडा कार्यालयको डेस्कटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र (फाइल), कार्यालयका टेबुल–कुर्सीलगायतका सबै सामग्री लुटेर लगेको वडाध्यक्ष रामशरण हुमागाईंले जानकारी दिएका छन् । आफू वडा कार्यालयको जमिन व्यवस्थापन तथा नापजाँचसम्बन्धी कामका लागि नापी कार्यालय धुलिखेल पुगेको मौकामा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले वडाका सम्पूर्ण सामग्री लुटेर लगेको उनले बताए ।

करिव ११ बजे दुई वटा ट्रक लिएर आएका उनीहरुले वडा कार्यालयमा बसेका वडासदस्य शिवप्रसाद भुर्तेल, वडा सचिव रामचन्द्र श्रेष्ठ र वडाकी कर्मचारी प्रमिला हुमागाईंलाई बाहिर निकाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले सामग्री लगेको वडाध्यक्ष हुमागाईंले बताए । ‘म वडा कार्यालयकै भवन बनाउन जमिन नापजाँचसम्बन्धी काम गर्नका लागि सदरमुकामस्थित नापी कार्यालय गएका बेला कांग्रेसका नेता–कार्यकर्ताले सामग्री लुटेर लगेछन्, वडा सदस्य श्रेष्ठले जानकारी गराएपछि मात्रै थाहा पाएँ’– उनले भने ।

वडा कार्यालय सार्ने विषयमा कांग्रेसका नेता–कार्यकर्ताले केही समयदेखि ‘दाहालटारमा सार्नुपर्छ’ भन्दै आफूलाई दबाब दिइरहेको वडाध्यक्ष हुमागाईंले बताए । उनका अनुसार भेंडाबारीस्थित एक घरमा अस्थायी रुपमा सञ्चालन गरिँदै आएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउराली डाँडामा राख्ने वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ । उनले भने– ‘दाहारटारमा वडा कार्यालय सार्न निकै दबाब थियो, दाहालटार वडाको केन्द्र भाग पर्दैन, वडा र नगरले नै देउरालीमा राख्ने निर्णय लिएपछि ढुक्क थियौं तर आफैं सामग्री लुटेर लैजान थालेपछि थप विवाद निकाल्न खोजियो ।’

यस्ताे छ लुट्ने पक्षकाे भनाइ…

आफूहरुले वडा कार्यालयका सामग्री निकालेर ल्याएको भूपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले स्वीकारे । उनले भने– ‘वडावासीको चाहना दाहालटारमा वडा कार्यालय बनाउने छ, उनीहरुले एकलौटी निर्णय गरेर हुँदैन, त्यसैले सामग्री उठाएर ल्याएका हौं ।’ वडा कार्यालय सार्न आफूसँग सयौं वडावासी गएको उनले दाबी गरे ।

वडा कार्यालयका सामग्री ल्याएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले देउराली चोकमा हस्तक्षेप गरी गाडी नियन्त्रणमा लिएको थियो । करिव १ बजे पुगेको प्रहरीले कार्यालयका सामग्री सुरक्षित गर्न लुटपाटमा संलग्नलाई तितरबितर पारेको थियो । ‘हामीले सामग्री सुरक्षित गरी पुनः कार्यालयमै फर्काएका छौं’– जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भनेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर