newskoseli.Com

प्रहरी चौकी धमाधम सदरमुकामतिर : स्थानीयमा असुरक्षाको अनुभूति !

चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएका छन् ।

माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकीहरू सदरमुकाम दुनै झारेपछि आफूहरूले असुरक्षित महशुस गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताए । उनले भने– ‘अस्थायी प्रहरी चौकीहरु उठाएर सदरमुकाम झारेपछि गाउँपालिकाका सबै कार्यालय, बैंकलगायतका विभिन्न कार्यालयको सुरक्षामा चिन्ता बढेको छ ।’

वर्षेनि यार्सागुम्बाको याम (वैशाख–जेठ) मा माथि जाने र असोजको अन्तिमतिर सदरमुकाम दुनै झार्ने गरी शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झारिसकिएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

माथिल्लो डोल्पाको कठ्याङ्ग्रिने चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, बिरामी पर्दा छिटो उद्धारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलब, रासन, दुर्गम भत्तालगायकात सेवा–सुविधा नभएकाले हिउँदको समयमा प्रहरी अधिकृत र जवानहरुको ज्यानकै जोखिम मोलेर त्यहाँ चौकी राख्न निकै समस्या भएको छ ।

डोल्पामा २० स्थायी र ७ अस्थायी गरी २७ प्रहरी युनिट भएकामा माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका चार र डोल्पोबुद्ध गाउँपालिकाका दुई गरी ६ वटा चौकीहरु चिसो हावापानी र विविध सेवाका समस्याले टिक्न गाह्रो हुने भएकाले दुनै झारिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही चाैकी भने नहट्ने

माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोट केही हदसम्म तातो हुने भएकाले त्यहाँ रहेको अस्थायी प्रहरी चौकी भने यस वर्षदेखि हिउँदमा पनि त्यहीं राख्ने निर्णय गरिएकाले जिल्ला प्रहरी प्रमुख रञ्जितकारले बताए । तल्लो डोल्पाका धेरै गाउँवस्तीलाई धान्ने गरी प्रहरी युनिटहरु राखिएका छन् । यहाँ प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सहज छ । नेपालकै ठूलो जिल्ला र विकट भूगोल ओगटेको माथिल्लो डोल्पामा निकै कम प्रहरी युनिट भए पनि चिसो हावापानी र मौसमलाई धान्ने आवश्यक पूर्वाधारको प्रबन्ध नहुँदा वर्षा याममा माथिल्लो डोल्पा पठाउने र हिउँदमा सदरमुकाम झार्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न ‘अज्ञात समूह’ हरुको गतिविधि बढिरहेका बेला माथिल्लो डोल्पा पूरै सुरक्षा निकायविहीन भएको छ । यही मौका छोपेर यसअघिका वर्षहरुमा पनि डकैती, लुटपाट, कुटपिट, चोरीजस्ता अपराधका विभिन्न घटना भएका थिए । त्यहाँ स्थापित गाउँपालिका, वडापालिकालगायतका सरकारी कार्यालयहरु र हालै स्थापित बैंकहरुलाई सुरक्षाको चिन्ता बढेको स्थानीयवासीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर