newskoseli.Com

महराको बयान सकियो, थुनछेक बहस आइतबार

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतमा शुक्रबार बयान सकिएको छ । थुनछेक बहस भने आइतबार हुने भएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार शुक्रबार ३ बजेसम्म कार्यलय समय भए पनि साढे ५ बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नपुगेकाले सो काम भने आइतबार हुने भएको हो ।

बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले करणीसम्बन्धी कसुरमा महराविरुद्ध मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निवर्तमान सभामुख महरामाथि अनुसन्धानका लागि पछिल्लो पटक कात्तिक ७ मा ७ दिनको म्याद थप गरिएको थियो, जुन बिहीबार सकिएको थियो । संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले असोज १९ मा अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने कुराको फैलला हुने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर