newskoseli.Com

सेनाको नयाँ विमान आइपुग्यो, अब आर्मीका २० वटा हवाइ साधन

नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरिद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो कार्गो विमान खरिदका लागि सन् २०१७ अगस्टमा एलसी खोलिएको थियो ।

विपदका समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालिमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरिद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । ५१ यात्रु (सिट) क्षमताको उक्त विमानले प्यारा तालिममा रहेका ३५ सैनिकलाई एकै पटक बोक्न सक्छ ।

कासा विमान कम्पनीबाट उत्पादित सो विमानले सन् १९८३ नोभेम्बर ११ मा पहिलो उडान गरेको थियो । उक्त कम्पनीका विमानको सबैभन्दा धेरै टर्की, फ्रान्स, मलेसियालगायत मुलुकले प्रयोग गर्दै आएका छन् । कल साइन सीएन २३५–२०० विमान नेपाली सेनाले ३ करोड अमेरिकी डलरमा खरिद गरेको हो । यो विमानसहित अब नेपाली सेनासँग विमान र हेलिकप्टर गरी हवाइ साधनको सङ्ख्या २० पुगेको छ ।

सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि ३ हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने ४ मध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् । त्यसैगरी, अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर