newskoseli.Com

यात्रु बस खस्यो सुनकोशीमा : १३ को मृत्यु, क्षति अझै बढी हुन सक्ने

तस्बिरः रासस

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा आइतबार यात्रुबस दुर्घटना भएको छ । घटनास्थलमै १० जनाको मृत्यु भएको छ भने पछि थप ३ जनाकाे निधन भएकाे पुष्टि भएकाे छ । मृतककाे संख्या अझै बढ्न सक्ने देखिएकाे छ ।

मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सडकबाट सुनकोशी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासीले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार केही शवहरु खोलाले समेत बगाएको छ । दुर्घटनामा परेको उक्त बस सुनकोशी नदीमा डुबेको छ ।

सो बसमा ४० जनाभन्दा बढी सवार थिए । दुर्घटना ठूलो भएकाले क्षति अझै बढी हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् । उद्धार कार्य जारी रहेको उनले जानकारी दिएका छन् ।

सामान्य घाइतेहरुलाई सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं लगिएको जानकारी सशस्त्र प्रहरी बलका प्रहरी नायव निरीक्षक भूपाल खत्रीले दिएका छन् ।

अपडेटः साँझसम्मकाे रेकर्डअनुसार यस दुर्घटनामा परी निधन हुनेकाे संख्या १७ पुगेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर