newskoseli.Com

वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी : फोहरमैला मेसिन राख्ने विवाद उत्कर्षमा

शान्ति सुरक्षामा खलल पुर्‍याई तोडफोड गरेको आरोपमा बनेपा नगरपालिकाले वडा नं. १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।

बनेपा नपा– ९, ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेसिन राख्ने स्थान तयार पार्ने क्रममा सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पुर्‍याएको जनाउँदै किटानी जाहेरी दिइएको हो । उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई असर नपुग्ने मेसिनमार्फत फोहर नस्ट गर्न जमिन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्‍याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेर डोजर तोडफोड गरिएको थियो ।

‘शान्तिसुरक्षामा खलल पुर्‍याइ तोडफोडमा उत्रिएको आरोपमा वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध जाहेरी आएको छ’– जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने । उनका अनुसार शान्ति सुरक्षामा खलल पुर्‍याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद– २ अनुसार कारबाही गर्न जाहेरीमा माग गरिएको छ । स्थानीयले अवरोध पुर्‍याएपछि भीडलाई तितरबितर पार्न सुरक्षाकर्मीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए ।

तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ (सङ्घर्ष समितिका अध्यक्ष) लाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गिरीले भने– ‘अनुसन्धानका लागि आरोपित अन्यको खोजी भइरहेको छ ।’ बनेपाको फोहर व्यवस्थापनका विषयमा गतहप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय–सर्वपक्षीय छलफलका सहभागीहरू उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेसिन राख्न सहमत भएका थिए ।

यसैबीच, बिहीबार बिहान नगरपालिका कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षाप्रमुख तथा कर्मचारी सम्मिलित बैठक बसेको छ । सो बैठकले फोहर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुनः काम सुरु गर्ने, वातावरण परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउने र प्रतिवेदनपछि फोहर व्यवस्थापनको काम सुरु गर्ने निर्णय गरेको छ ।

पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय बिहीबारै महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् । नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर