newskoseli.Com

हिमाल चढ्नेले शरद ऋतुमै तिरे साढे ६ करोड रोयल्टी : यस्तो छ समग्र आरोहण रिपोर्ट

देशका विभिन्न हिमाल आरोहणको अनुमतिबाट शरद ऋतुको हालसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यति रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । सबैभन्दा बढी २७ समूहका ३ सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन्, जसबाट १ कारोड ४० लाख ३६ हजार ३ सय रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनासलु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनासलुबाट मात्रै २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी सङ्कलन भएको निरौलाको भनाइ छ । मनासलु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी, धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । उक्त हिमाल आरोहणका लागि ३ समूहका ३१ जानले अनुमति लिएका छन् । ‘थापा पिक आरोहण’ अनुमतिबाट ११ लाख ८९ हजार ३ सय १२ रुपैयाँ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८ सय रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि टोली गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ । सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् ।

शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ । सगरमाथा आधार शिविरदेखि क्याम्प– १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प– १ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तिमा २५ हजार अमेरिकी डलर खर्च लाग्ने समितिले जनाएको छ ।

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिं तामाङले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर