newskoseli.Com

३ जनाको वीभत्स हत्या, न शवको पहिचान न त दोषीको : २ साता के हेर्‍यो प्रहरीले ?

चन्द्रकोट गाउँपालिका– २, विश्वुखर्क, गुल्मीकी ५४ वर्षीया मीनाकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । न त उनलाई घरबाट निस्कन मन लाग्छ, न त घरमा आएका कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो– दुई हप्ताअघि घर नजिकै फेला परेका तीन जनाको वीभत्स हत्या गरिएको अवस्थाका शव । अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु र शवको पहिचना समेत नहुनुले उनलाई थप दिक्दारी लागेको छ ।

चन्द्रकोट– २ स्थित हर्राचौरको जङ्गलमा कात्तिक १६ गते शनिबार बिहान तीन वटा शव भेटिएका थिए । तीनमध्ये एक जना महिला र दुई बालबालिका रहेका छन् । अन्दाजी २७ वर्षीया महिला तथा ११ र ७ वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो । महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दुरीमा फेला परेका थिए । तर, अहिलेसम्म पनि न शवको पहिचान हुन सकेको छ न त हत्यारा नै पत्ता लागेको छ ।

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको खर्‍यान पर्छ, जहाँ उनी दैनिक रुपमा घाँस–दाउराका लागि जानुपर्छ । तर, घटना थाहा पाएपछि भने उनी खर्‍यानमा जान सकेकी छैनन् । घरमा वृद्धवृद्धा बूढाबूढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेको छ ।

‘घरमा बूढाबूढी मात्रै छौं, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ,’ उनले भनिन्– ‘घरबाट निस्कन पनि डर लाग्छ तर काम नगरे खर्च चल्दैन ।’ यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन । पातलो वस्ती भएको र प्रहरी चौकी पनि नजिकमा नभएकाले आफूहरु झन् त्रसित भएको उनले बताइन् ।

सबै उत्तिकै त्रसित, प्रहरीकाे भूमिका कमजाेर  !

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ । ‘घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटामा एक्लै हिँड्न पनि डर लाग्ने भयो,’ उनले भने– ‘छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु पर्‍यो ।’ महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन् बढी त्रास रहेको उनले बताए ।

दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको स्थानीय युवा किरण हमालले बताए । अधिकांश घटना गुमनाम बनाइने भन्दै यसतर्फ सचेत हुन उनले प्रहरीलाई आग्रह गरे । ‘गाउँ त्रासमा छ, न शवको पहिचान भएको छ न त हत्यारा नै पत्ता लाग्न सकेको छ,’ उनले भने– ‘यस म्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनभिज्ञ छौं ।’

यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप हमालले लगाए । शव भेटिएको स्थान वरपर, नजिकमा कतै पनि वस्ती छैन । झाडी र अप्ठ्यारो भीर मात्र छ । तर, शव भेटिएको करीव दुई सय मिटर तल भने खर्क र खेतबारी पर्दछन् । त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायतका आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर