newskoseli.Com

उपनिर्वाचनमा नेकपाका ‘बागी’, फिर्ता लिने म्याद सकिए पनि उम्मेदवारी कायमै

बागलुङ– २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा १० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार मनोनयन दर्ता गराएकामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यीमध्ये एक जना सत्ताधारी गठबन्धनभित्रैका बागी उम्मेदवार रहेका छन् र उनको उम्मेदवारी समेत यथावत कायम रहेको छ ।

निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको थियो । आइतबारै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन भैसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । ‘कसैको पनि उम्मेदवारी फिर्ता भएन, सोहीअनुसार अन्तिम नामवली प्रकाशन भएको छ’– उनले भने । निर्वाचन तालिकाअनुसार सोमबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने र मङ्सिर १४ मा मतदान गर्ने कार्यक्रम छ । बागलुङमा दलहरूका तर्फबाट ८ र स्वतन्त्र रूपमा २ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रूपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रूपमा नेकपाकै ‘बागी’ शेरमान घर्ती र अर्का स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी पनि चुनावी मैदानमा छन् । यद्यपि घर्तीले आइतबार साँझ विज्ञप्ति जारी गर्दै आफू चुनावी मैदानबाट पछि हटेको र खिमविक्रम शाहीलाई पूर्ण समर्थन गरेको बताएका छन् ।

बागलुङ– २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गतवर्ष निधन भएपछि रिक्त हुन आएको पदमा उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभा सदस्यसँगै बडिगाड गाउँपालिका– २ को वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर