newskoseli.Com

कथित ‘अघोरी बाबा’ की पत्नी पक्राउ : ५ दिन म्याद थप, ‘आपराधिक लाभ’ मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डे सोमबार पक्राउ परेकी छन् । उनीविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिएका छन् । विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले पाण्डेमाथि कारबाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानि वा क्षति पुर्‍याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने’ उल्लेख छ ।

भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा ७ वर्ष जेल र ७० हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर