newskoseli.Com

झाँक्रीको घाँटी रेटेर हत्या, संलग्नताको आरोपमा ५ जना पक्राउ

धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित ललमनिया ग्राम, बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका– १२, सारस्वरस्थित कमला नदीको छेउमा झाँक्री यादवको शव फेला परेको करिव दुई सातापछि सिरहा प्रहरीले सो हत्यामा संलग्नताको आरोपमा धनगढीमाई नगरपालिका– १०, सिरहा निवासी ३८ वर्षीय फुलगेन साह, निजका भतिजा मिर्चैया नगरपालिका– ४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, कमलामाई नगरपालिका– ६, सरुवामडा, धनुषा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झाँक्री यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको थियो । फुलगेनकै माध्यमबाट अन्य व्यक्तिहरुसँग पनि उनको चिनजान भएको थियो । झाँक्री यादवले भूतप्रेत भगाउन झारफुक गरिदिन्छु भन्दै ती व्यक्तिहरुसँग पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको भन्ने गुनासाहरु आएको प्रहरीले जनाएको छ ।

चिनजानकै क्रममा फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र फुलगेनसँग लिएको रकम झाँक्रीसँग फिर्ता माग्दा उनले उल्टै फुलगेनकै ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचै जना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा अभियुक्तहरुले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरु समेत फेला परेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर