
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् ।
मन्त्री पदबाट बाहिरिएपछि बिहीबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल हुने स्वाभाविक प्रक्रिया भएको उनले बताए । स्वाभाविक प्रक्रियालाई सोही रुपमा आत्मसात गरेर आफू देश र जनताका पक्षमा लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ,’ निवर्तमान मन्त्री विष्टले भने– ‘वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।’ आफू श्रममन्त्रीका रूपमा कार्यरत रहँदा वैदेशिक रोजगारीका नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास आफूले गरेको उनले बताए । ‘म थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु,’ उनले भने– ‘यो अवधिसम्म मन्त्रीका रूपमा काम गर्न मलाई अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु ।’
नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै श्रमजीवी वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास निवर्तमान मन्त्री विष्टले व्यक्त गरे । ‘बेरोजगारी, अभाव तथा गरीबीसँग लडिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको छ,’ ती कार्यक्रमको सफलताप्रति आशङ्का व्यक्त गर्दै उनले भने– ‘वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन र यस क्षेत्रमा रहेका विकृति–विसङ्गति नियन्त्रण गर्न नवनियुक्त मन्त्रीज्यू सफल हुने विश्वास गर्दछु ।’