newskoseli.Com

फेवातालमा छाडिए १० हजार भुरा

विश्व मत्स्य दिवस, २०७६ का अवसरमा पोखरास्थित फेवातालमा माछाका १० हजार भुरा छाडिएका छन् ।

आयातीत माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा सहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले वर्सेनि यहाँका तालतलैयाहरुमा भुरा छाड्दै आएको छ ।

केही वर्षअघि तालमा सहर, कत्ले, काँडे, फगेटा, बामलगायतका स्थानीय जातका माछा पाइने गरेकामा अहिले ती लोप हुँदै गएको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले बताए । तर, पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र र प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको जानकारी उनले दिए ।

तालमा साना भुरा छोड्दा बकुल्लालगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढिरहेकाले कम्तिमा पनि १० देखि १५ ग्रामका माछा छोड्नु उपयुक्त हुने अध्यक्ष जलारीले बताए ।

स्वदेशी माछा तथा तालतलैया र माछाको प्रजननस्थलको संरक्षण कार्य केन्द्रले गर्दै आएको चर्चा गर्दै विश्व मत्स्य दिवसका अवसरमा हरेक वर्ष १० देखि २० हजार भुरा छोड्ने गरिएको अनुसन्धान केन्द्रका प्रमुख एवं डा. मोहम्मद इकवाल हुसेनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर