newskoseli.Com

नेपालको वास्तविक नयाँ नक्सा सार्वजनिक : राष्ट्रसंघमा पुर्‍याइने, अन्तर्राष्ट्रियकरण गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सा सार्वजनिक गरिएको छ । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियान अन्तर्गतको नक्सा समितिले तयार पारेको नक्सा आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्जजनिक गरिएको हो ।

नागरिक अगुवा एवं सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नक्सा सार्वजनिक गर्दै नेपालको वास्तविक नक्साबारे घर–घरमा जानकारी र चर्चा हुनुपर्ने बताए । डिजिटल एलिभेसन मोडलको रेखाङ्कन विधिबाट नक्सा रेखाङ्कन गरिएको समितिले जनाएको छ । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको पत्रकार सम्मेलनमा बताइयो ।

सार्वजनिक गरिएको नयाँ नक्सा सुगौली सन्धिअनुसारको नेपालको वास्तविक नक्सा भएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । भारतका तर्फबाट नेपाली भूभागमा गोलमाल पारिएका कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको अभियानले बताएको छ ।

नेपालको वास्तविक नक्सा सार्वजनिक गरेकामा नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले अभियानलाई धन्यवाद दिए । काली नदीको मुहानबारे नेपालसँग यथेष्ट र आधिकारिक प्रमाण रहेको भन्दै आफूहरुले पनि यस सम्बन्धमा विगतमा काम गरेको उनले बताए ।

नक्सा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वसचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले यो नक्सा नेपाल सरकारसमक्ष प्रस्तुत गरी संयुक्त राष्ट्रसंघसम्म पुर्‍याइने जानकारी दिए । नक्सा तयार भइसकेकाले यसलाई सबै क्षेत्रमा पुर्‍याउनुपर्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर