newskoseli.Com

पशुपतिको जुत्ता–चप्पल राख्ने ठाउँसम्म निःशुल्क टेम्पाे सुविधा : ४ पुगे, अझै २ थपिँदै

पशुपति क्षेत्रको सवारी निषेधित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, अशक्त एवं थकित भक्तजनका लागि दुईवटा विद्युतीय परिवहन थप गरिएको छ । भारतीय राजदूतावासको पहलमा भारतीय महिला सङ्घले दुई विद्युतीय टेम्पो पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीको उपस्थितिमा कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई सङ्घकी अध्यक्ष नम्रता पुरीले बुधबार टेम्पो हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै सदस्यसचिव ढकालले मैत्रीपूर्ण सहयोगले मन्दिर दर्शनमा आउने अशक्त दर्शनार्थीलाई सहयोग पुग्ने बताए ।

ती परिवहन वनकालीदेखि जुत्ता–चप्पल कक्षसम्म सञ्चालन हुनेछन् । कोषमा यसअघि पनि दुई विद्युतीय टेम्पो सञ्चालनमा थिए । यसअघिका दुई टेम्पो लक्ष्मी बैंकले कोषलाई सहयोगस्वरुप हस्तान्तरण गरेको थियो ।

सवारी निषेधित सो क्षेत्रमा कम्तिमा पाँच वटा विद्युतीय परिवहन सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई निर्देशन दिएको थियो । दुई परिवहन कोष आफैंले थप्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

यी परिवहनमा निःशुल्क यात्रा गराइने कोषले जनाएको छ । एउटा विद्युतीय परिवहन पशुपतिको भ्रमणमा आएका आन्तरिक एवं बाह्य पर्यटकलाई गुह्येश्वरीसम्म लैजान उपयोग गरिने छ । पशुपति आएका पर्यटकलाई गुह्येश्वरी लैजान कोषले विशेष कार्यक्रम ल्याउने तयारी गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर