newskoseli.Com

‘टुटल’ र ‘पठाओ’ को सेवा खोलिदिए मन्त्री नेम्बाङले

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिएका छन् ।

लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुको कारणबारे मन्त्री नेम्बाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई मौखिक रुपमा स्पष्टीकरण सोधेको मन्त्रालयले जनाएको छ । विभागले गतसाता सूचना जारी गरी ‘निजी सवारी साधन यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा भएको उल्लेख गर्दै ‘टुटल’, ‘पठाओ’ लगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न आदेश दिएको थियो ।

कार्यविधि–निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि मन्त्री नेम्बाङले विभागलाई निर्देशन दिएका छन् । मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भने– ‘ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि बढाएर पनि सेवा सञ्चालन गर्न दिन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गतवर्ष ती सेवा अवरुद्ध नगर्न निर्देशन दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर