newskoseli.Com

७ डिग्रीमा झर्‍याे उपत्यकाकाे तापक्रम, जिरीकाे जाडाे २.८ डिग्रीमा…

केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नुमा कुनै नयाँ प्रणालीको प्रभाव नभई नियमित मौसमी कारण मात्र भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘डिसेम्बरदेखि जनवरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ,’ उनले भनिन्– ‘आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम ७ डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस थियो ।’

उपत्यकाको तापक्रम अझै घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविदको अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुँदै जाने बताइएको छ । हाल देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

शुक्रबार राति देशका पश्चिमी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आइतबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । शुक्रबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर