newskoseli.Com

प्रचण्ड ‘कार्यकारी’ भएपछि पहिलो सचिवालय बैठक : गर्‍यो यस्ता निर्णय !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको निष्कर्ष निकाल्दै चिकित्सकको सल्लाह र परामर्शमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डले ‘कार्यकारी’ नेतृत्व पाएपछि पहिलो पटक राजधानीको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलाइसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

‘महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य उपचार भैरहेको छ र एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ अहिले निको हुने क्रममा रहेको छ,’ उनले भने– ‘आवश्यकता अनुसार मिर्गौलाको डाइलाइसिस प्रक्रिया पनि जारी नै छ र यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।’

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्सिर १० मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

बुधबारको सचिवालय बैठकले तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र हालै सम्पन्न भएको उपनिर्वाचनको समीक्षा गर्ने निर्णय गरेको छ । ‘अहिलेसम्म औचपारिक रुपमा कहींबाट पनि घात–अन्तर्घातको जानकारी प्राप्त भएको छैन तर निर्वाचन भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि आगामी बैठकबाट औपचारिक समीक्षा गर्ने छौं’– उनले भने । बैठकले ती कमिटीलाई प्रतिवेदन पठाउन निर्देशन समेत दिएको छ । सचिवालयको अर्को बैठक मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमै बस्ने भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको आगामी बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टीको सङ्गठनात्मक एकीकरणका बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय लिइने छ ।

दाङको घोराही उपमहानगरपालिका ‘विद्रोही’ उम्मेदवार उठेकालाई तत्कालै कारबाही गरेर पार्टीबाट निष्कासन गरिसकिएको जानकारी उनले दिए । मङ्सिर १४ मा भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्य पद नेकपाले गुमाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर