newskoseli.Com

‘शिखर सम्मेलन छिटो गरौं, सार्कलाई पुनर्जीवन दिऔं’ : प्रधानमन्त्री

अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।

सार्क स्थापनाको ३५औं वार्षिकोत्सवका अवसरमा आइतबार दिएको सन्देशमा नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको उनले बताएका छन् । सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको सन्देशमा उनले बताएका छन् ।

दक्षिण एशियाका १ अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । द्रुत आर्थिक विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सिर्जना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्न सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

‘सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो’– प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

यसैगरी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएका छन् । यसै अवसरमा बङ्गलादेशका विदेशमन्त्री ए.के. अब्दुल मोमेनले पनि सन्देश जारी गरी तीन दशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास र सामाजिक उन्नयनका निम्ति उपयोग गर्नु अपरिहार्य भएको बताएका छन् ।

सार्कका महासचिव अमजद हुसेन बी सियालले आठ वटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर