newskoseli.Com

उडिरहेको हेलिकप्टरबाटै पटक–पटक सामान खस्छ !

खुम्बु क्षेत्रमा कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । कैलाश र सिम्रिक एयरका हेलिकप्टरले खुम्बु क्षेत्रका विभिन्न ठाउँमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री समेत ढुवानी गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय, बबरमहल काठमाडौंले सिम्रिक एयर प्रालिलाई २०७६ मङ्सिर १६ मा लेखेको चलानी नं. १०७८ को पत्र र २०७६ मङ्सिर २० मा कैलाश हेलिकप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नं. ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ ।

प्रशासनलाई छैन जानकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्तसहित उडान अनुमति दिएको भए पनि हेलिकप्टर कम्पनीले कानुनको खिल्ली उडाएका छन् । सदरमुकाम सल्लेरीदेखि करिव २ घन्टाको पैदलयात्रामा पुग्न सकिने सोलु–दूधकुण्ड नगरपालिका– १, टाक्सिन्दुबाट ती हेलिकप्टरले निर्वाधरुपमा सामान ढुवानी गरिरहेका छन् । दिनहुँ सामग्री ढुवानी गरिरहेका ती हेलिकप्टरका विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताइन्छ ।

प्रजिअ वेदनिधि खनालले त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए । नियम–कानुन भए पनि त्यसको बेवास्ता गर्दै विगतका वर्षहरुमा पनि यसै गरी सामान ढुवानी हुने गरेको स्थानीयवासी बताउँछन् । केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकप्टरमार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।

समन्वयमा नै उडान भरेको कम्पनीको दाबी

प्रजिअ खनालले उडानबारे जानकारी नभएको बताइरहँदा हेलिकप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ । प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको कैलाश एयरका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले बताए ।

तत्काल छलफल गर्छौं : प्राधिकरण

उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन् । जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट उनी पन्छिन खोजे । नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानी गरिरहेको बारे आफूसँग कुनै समन्वय नगरेको बताए । कम्पनीले ‘माथिको निर्णय’ भन्दै आफूखुशी उडान भर्ने गरेको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताए । स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइएमा कार्बाही गर्ने उनले बताए ।

उडिरहेका हेलिकप्टरबाट पटक–पटक समान खस्छ

सुरक्षा जाँचविना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेर मात्रै उडान गर्ने–गराउने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ । भदौ १९ गते बिहीबार अपराह्न उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतका सामग्री खसेका थिए ।

फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका– २, फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयवासीले प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । उडिरहेका हेलिकप्टरबाट पटक–पटक सामग्री खस्दा समेत नियमनकारी निकाय मौन बसेको स्थानीयवासी छिरिङ शेर्पाको भनाइ छ । खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको विकल्प हवाई सेवा नै भए पनि नियम पालना भने गर्नुपर्ने स्थानीयवासीको माग छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर