newskoseli.Com

समाजवादी पार्टीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

मंगलबार सरकार छाडेको समाजवादी पार्टीले सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ । सो पार्टीका दुई नेताले मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट बुधबार सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरिएको जानकारी सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् ।

संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको निर्णय सुनाउँदै अध्यक्ष यादवले भने– ‘आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ, अब हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा बस्ने जानकारी गराउँछु ।’

तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल १४ जेठ, २०७५ मा संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकारमा सामेल भएको थियो । उक्त पार्टीबाट अध्यक्ष यादव उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री थिए भने अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री थिए । केही अघिसम्म यादव उपप्रधानसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए ।

सरकारबाट यसकारण बहिर्गमन

पुस ७ मा यादवले संविधान संशोधनका लागि आवश्यक गृहकार्यका निम्ति संविधानविद् सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न मन्त्रिपरिषदमा गरिएको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरी दुईबुँदे सहमतिबाट पछाडि हटेकाले सरकारबाट आफ्नो बर्हिगमन भएको समाजवादी पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसदमा प्रतिपक्षमा रही रचनात्मक र सिर्जनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने यादवले बताए । अधिकारबाट वञ्चित भएका समुदायको मुद्दालाई स्थापित गराउने र शासकीय स्वरुप, समानुपातिक समावेशितालगायतका विषय सच्याउन भूमिका खेल्ने बताउँदै उनले भने– ‘सबैले मेरो संविधान हो भनेर गौरव गर्ने परिस्थिति बनाउन चाहन्छौं, पहिलेको चाहना पनि त्यही थियो, हाम्रो पार्टी निरन्तर यसैमा लागिरहन्छ ।’

आफ्ना मुद्दा स्थापित गर्न सदन र सडकबाट शान्तिपूर्ण र अहिंसात्मक रूपमा प्रस्तुत हुने उनको भनाइ छ । यसअघि पटक–पटक प्रधानमन्त्रीलाई भेटेर मागपत्र दिएको तथा संसद्, मन्त्रिपरिषद्, पार्टी–पार्टीबीच कुराकानी भए पनि संविधान संशोधनको विषयमा कुनै सुनुवाइ नभएको यादवले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले एकलौटी रुपमा सरकार चलाउँदै आएको र सम्झौता पनि सरकारले एकलौटी रुपमै तोडेको आरोप उनले लगाए ।

‘राजपा सरकारमा जान्छ भन्ने लाग्दैन’

राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा जान्छ भन्ने आफूलाई विश्वास नलागेको अध्यक्ष यादवले प्रतिक्रिया दिए । ‘राजपा सरकारमा जान्छ भन्ने कुरामा मलाई विश्वास छैन, उसले हिजो भनेको कुरा आज उल्ट्याउला भन्ने लाग्दैन, सहमति गरेर गएमा त्यो राजपाको स्वतन्त्रता हो’– यादवले भने ।

राजपाले पार्टी एकीकरणका लागि महत्त्वपूर्ण विषय नै समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्दै आएकोमा अब आफूहरुले सरकार छाडेपछि दुई पार्टीबीच एकतामा ठूलो समस्या नरहेको यादवले दाबी गरे । पार्टी एकीकरणका लागि आफ्नो पार्टीको राष्ट्रिय परिषद् र केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको उनले बताए । दुई पार्टीबीच पनि धेरै कुराकानी भइसकेको जानकारी दिँदै राजपा सकारात्मक रुपमा अघि बढे एकीकरणमा कुनै समस्या नभएको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर