newskoseli.Com

प्रहरीका डीआईजीलाई नै सडकमा चक्कु ताक्ने यी महिला…

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल (डीआईजी) सहितको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी थिए ।

कमलादीस्थित गणेशमन्दिर नजिक सडक छेउमा एक दम्पत्ति ओढ्ने–ओछ्याउने सहित सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै थिइन् भने श्रीमान् चाहिँ मदिरामा लठ्ठ भेटिए । प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । मोबाइल उठाउँदै कुनै व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा उनले सुनाइन् । खुरुक्क जान नमाने जसरी पनि लैजाने अडान प्रहरीले कसे । महिलाले भनिन्– ‘भोलि आफ्नै घर जान्छौं, आज छाडिदिनोस् ।’

उनले यसरी अनुरोध गरेको यो तेस्रो पटक थियो । सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । ‘म पनि इन्स्पेक्टरकी छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छु’– चक्कु ताक्दै उनी घुम्न थालिन् । अश्लिल शब्द समेत प्रयोग गरिन् । सामुन्ने रहेका प्रहरी नायव महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।

गाडीमा बसिसकेका श्रीमानलाई फिर्ता ल्याइदिने शर्त राखेपछि उनले चक्कु थन्क्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । धादिङको नौबिसे घर बताउने दम्पति मन्दिरमा मागेर बस्ने गरेको लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पति दिउँसो विभिन्न अश्लिल शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्नेमध्येको प्रमुखमै पर्छ ।

क्रमशः खालि हुँदै काठमाडाैंका सडक

शान्ति सुरक्षामै चुनौती हुने गरी सडकमा बेला–बेला यस्ता हर्कत हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेको एक जमातलाई पनि राति नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरुले भट्टीमा पसेर मदिरा पिउने अनि चोकमा निस्केर हरेक दिन झैझगडा गर्दै आएका थिए । यहाँ महिला–पुरुष एउटै ‘गुँड’ बनाएर सुतिरहेका भेटिए ।

यसरी सडकमा हतियार देखाएर तर्साउन खोज्ने, कुटपिट गर्न खोज्ने र टोली देखेपछि भाग्नेहरु धेरै छन् । काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहे पनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् । अधिकांश पेशेवर मगन्ते, मदिरा खाएर पल्टिने र दिनभर मजदुरी गरेर राति सडकमा बस्नेहरु छन् । यस्ता व्यक्तिले कुनै न कुनै हर्कत देखाउने गरेको अर्का अभियानकर्मी सुमन बर्तौलाको भनाइ छ ।

यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेको भन्दै कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ, त्यसका लागि प्रहरी तयार रहेको डीआईजी पोखरेलले बताए । ‘कुनै मान भने मानवका लागि आफ्नो जीवन समर्पण गर्छ, त्यो कुरा महत्त्वपूर्ण छ’ भन्दै आश्रमका अभियानकर्मीपतर्फ सङ्केत गर्दै प्रहरी नावय महानिरीक्षक पोखरेलले भने– ‘मानव हुनुको अर्थ तपाईंहरुको सेवामा देख्छु म, एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कष्ट भुलेर अभियान चलाउनुभएको छ ।’ मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ््ने पुनीत कार्यको जति प्रशंसा गरे पनि नपुग्ने उनले बताए ।

काठमाडौंका विभिन्न सडकबाट शुक्रबार राति मात्रै ३८ जनाको उद्वार भयो । सबै मदिरा खाएका र पेशेवर मगन्ते मात्र थिए । कालीमाटीको सडकमा बोरा ओछ्याएर ४३ जना लस्करै सुतेको केही दिनअघि भेटिएका थिए । यो अभियानका कारण शुक्रबारको रात भने त्यो सडक खालि थियो । विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र बिस्तारै खालि देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर