newskoseli.Com

सञ्चारमन्त्री बाँस्कोटाको भाषण : ‘अबको पत्रकारिता स्वर्णयुगमा, कुण्ठित भए राजीनामा दिएर आन्दोलनमा उत्रन्छु’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दावी गरेका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २३औं स्थापना दिवसका अवसरमा बुधबार बोल्दै संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रने जिकिर उनले गरे ।

मन्त्री बाँस्कोटाले भने– ‘एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको छ, म पनि वर्षौंसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।’ सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा मन्त्री बाँस्कोटाले जोड दिए । ‘अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ’– उनले भने ।

पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने दावी मन्त्री बाँस्कोटाले गरे । आफू मन्त्री भएपछि ५ करोड ३४ लाख रूपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर १० करोड पुर्‍याइने उनले बताए । शङ्काको भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै गल्ती गर्नेलाई छाड्नु नहुने उनले बताए । पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै पूर्वाग्रह राखेर समाचार नलेख्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रह गरे । पत्रकारितालाई अब भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले भने महासङ्घको दबावपछि मात्र ‘प्रेस जगतलाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन समिति बनाएर सरकारले छलफल गरिरहेको जिकिर गरे । महासङ्घका उपाध्यक्ष दिलिप थापा मगर र पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रेस स्वतन्त्रता हनन् हुने गरी ल्याइएका विधेयक सच्याउन माग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर