पोखरास्थित मणिपाल अस्पतालमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छन् । पुतलीबजार नगरपालिका– १, स्याङ्जाकी सुनीता पौडल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।
अस्पतालका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालको पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए । पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलोग्राम तौलकी, दोस्रो छोरा १.३ किलोग्राम तौलको, तेस्रो छोरी १.३ किलोग्राम तौलकी र चौथो छोरी १.४ किलोग्राम तौलकी रहेका छन् ।
डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । पौडेलका यसअघि एक छोरा रहेको खबर राससले प्रेषित गरेको छ ।