newskoseli.Com

एमसीसीको पक्ष–विपक्षमा राष्ट्रियसभामा बहस : अमेरिकी दूतावासको भिडियो–प्रष्टीकरण (भिडियोसहित)

फाइल तस्बिर

राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्ष र विपक्षमा आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसदबाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने आशङ्का उनले व्यक्त गरे ।

मुलुकभित्रकै स्रोत–साधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने सांसद कुँवरले बताउनुभयो । वर्तमान ‘कम्युनिस्ट’ सरकारले द्वन्द्वपीडित, घाइते र सहिद परिवारका समस्या शीघ्र सम्बोधन गर्नुपर्नेमा समेत उनले जोड दिए ।

सोही बैठकमा बोल्दै सांसद कोमल वलीले ‘एमसीसी’ का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गरिन् । यसबारे सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क उनले गरिन् । लामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको दावी गर्दै दातृनिकायको दूतावस समेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको जिकिर वलीले गरिन् ।

लोकतान्त्रिक अधिकार हनन् हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने सांसद रमेशजङ्ग रायमाक्षीले बताए । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारबाही हुने र भेटघाट गर्ने गरिएको भन्दै उनले आपत्ति प्रकट गरे । गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा पनि उनले प्रश्न उठाए ।

मधेश आन्दोलनका सहिदको सम्मान गर्दै आन्दोलनका क्रममा विनाकसुर लगाइएका मुद्दा फिर्ता गर्न सांसद प्रमिला कुमारीले सरकारसँग माग गरिन् । परिवर्तनको सुरुआत घरबाटै भने झैं सङ्घीय संसद् सचिवालयभित्र रहेका बेथिति अन्त्य गरी सुधार गर्नु जरुरी रहेको डा. विमला राई पौडेलले बताइन् ।

तराई क्षेत्रमा प्रशासनकै आडमा अपराध हुने गरेको अरोप लगाउँदै सांसद मुक्ताकुमारी यादवले धनुषामा दिलिप भनिने ओमप्रकाश महतो, आफ्ना छोरा लोकेशकुमार यादव तथा कञ्चनपुरमा निर्मला पन्तलगायतको हत्या समेतमा प्रशासनको सहयोग रहेको भन्दै आपत्ति जनाइन् । पर्यावरणको संरक्षणमा संलग्न रहँदै आएका दिलिपको ट्रिपरले किचेर अवैधरुपमा क्रसरको कारोबार गर्ने व्यक्तिले केही दिनअघि मात्र हत्या गरेको बताउँदै हत्यारालाई कडा कारबाही गर्न र दिलिपलाई पर्यावरणीय सहिद घोषणा गर्न उनले माग गरिन् ।

कोटेश्वर–जडीबुटी सुरुङमार्ग र मनोहरा करिडोरका लागि वर्सेनि बजेट विनियोजन भएको तर काम सुरु नभएकोमा सांसद चक्रप्रसाद स्नेहीले प्रश्न गरे । यस्ता बजेट विनियोजन हुने र काम सुरु नहुने समस्या समाधानका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौंमा कुनै बेला त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म रहेको विशाल टुँडिखेल दिनहुँ अतिक्रमण हुँदै गएकामा सांसद रामनारायण बिडारीले चिन्ता व्यक्त गरे । टुँडिखेलको केही भाग नेपाली सेनाको मातहत रहेको र केही भाग ठेकेदारले कब्जा गरेको भन्दै त्यसलाई खालि गराउन उनले सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने खबर राससले प्रेषित गरेको छ ।

भिडियोमा हेर्नोस् एमसीसीबारे अमेरिकी दूतावासको प्रष्टीकरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर