newskoseli.Com

कांग्रेस सांसदले सामाजिक काममा खर्चे आफ्नाे तलब र सुविधा

गण्डकी प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएवापत प्राप्त गरेका सम्पूर्ण सेवा–सुविधा सामाजिक काममा खर्चिएका छन् । बुधबार पोखरामा पत्रकार सम्मलेन गरी आफूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार आफू निर्वाचित भएपछि प्राप्त गरेका सबै सेवा–सुविधाको रकम यस वर्ष पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको जानकारी उनले दिएका छन् ।

२०७५ फागुन १ देखि २०७६ पुस मसान्तसम्म बसेका प्रदेशसभाका बैठकवापत प्राप्त भत्ता, मासिक पारिश्रमिक एवं अन्य सुविधावापत प्रदेशसभाबाट ६ लाख १० हजार ६ सय २९ रुपैयाँ बैंक खातामा जम्मा भएको जानकारी दिँदै उक्त रकममा केही थप गरी ९ लाख ३ हजार ७ सय १ रुपैयाँ सामाजिक काममा खर्च गरेको जानकारी उनले दिए । विभिन्न सामुदायिक भवन निर्माण, खेलकुद, सडकलगायतका पूर्वाधार विकास एवं सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ–संस्थालाई उक्त रकम प्रदान गरेको उनले बताए ।

गण्डकी प्रदेशमा जिम्मेवार प्रतिपक्षका रुपमा रही सरकारका राम्रा कामलाई सहयोग गर्दै आए पनि आफूहरूप्रति सरकारले निषेधको राजनीति गरेको आरोप उनले लगाए । प्रतिपक्षी दलका सांसदले राखेका जायज माग सरकारले सुन्नै नचाहने गरेको बताउँदै आफू निर्वाचित भएको क्षेत्रमा सरकारले विकास निर्माणमा विभेद गरेको प्रदेशसभा सदस्य थापाले उल्लेख गरे । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फको बजेटलाई आफूले निकै सुझबुझपूर्ण तरिकाले समानुपातिक ढङ्गबाट सबैको उपस्थितिमा विनियोजन गरेको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर