newskoseli.Com

‘भ्रष्टाचारी मुलुक’ को सूचीमा सुध्र्यो नेपालको अवस्था ! कुन देशले कति अंक पाए ?

‘भ्रष्टाचार गर्ने देशको सूची’ मा नेपालले आफ्नो स्थान ‘सुधार’ गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क– २०१९’ मा नेपाल तीन स्थान माथि गई ‘सुधार गरेको’ देखिएको हो ।

विश्वका १८० देशको नाम रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको नेपाल ११३औं स्थानमा परेको हो । सन् २०१८ मा नेपाल ३१ अङ्कसहित सूचीको १२४औं स्थानमा थियो । विश्वबैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीईएम समेत गरी छ संस्थाको सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको देखिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुबियोका अनुसार सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास घटाउन राजनीतिक सदाचारतर्फ उन्मूख हुनुपर्ने देखिएको छ । दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने देखिएको सो अवधारणामा उल्लेख छ ।

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा ८७ अङ्क प्राप्त गरी डेनमार्क रहेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा ९ अङ्क प्राप्त गरी सोमालिया रहेको छ । दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भूटान परेको छ । भूटान ६८ अङ्क प्राप्त गरी २५औं स्थानमा छ । भारत र चीन समान ४१ अङ्क प्राप्त गरी ८०औं स्थानमा परेका छन् ।

यस्तै, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३औं स्थानमा, माल्दिभ्स २९ अङ्क प्राप्त गरी १३०औं स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३औं स्थानमा रहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्द प्रधानका अनुसार सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचारविरोधी निकायको कारबाही, न्यायपालिकाका कामकारबाही, कर असुलीसम्बन्धी विषय, सुरक्षा निकाय (खासगरी नेपाली सेना) मा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको भ्रष्टाचारी प्रवत्तिमा केही सुधार आएको सर्वेक्षणले देखाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर