newskoseli.Com

१४ किलोको कुखुराको भाले, ८–८ किलोका २ पाेथी !

उमेर ४ महिना । भारी जीउ । हाँसको झैं चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ ।

११ असोजमा ‘अर्पणा पोल्ट्री फर्म’ मा आएदेखि यसको आयु र तौलको गन्ती सुरु भयो । डेढ महिनाअघि १२ किलो २ सय ग्राम रहेको भाले बढेर अहिले १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरापालकले गरेका छन् ।

‘यो भाले परीक्षणका लागि लामो समय पालिएको हो,’ फर्म सञ्चालक विजय शर्माले भने– ‘अब यो यहाँ धेरै समय रहँदैन होला ।’ ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ । उक्त भालेले अहिलेसम्म ६ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहका कारण भाले निरोगी छ ।

‘भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए भने बेच्ने तयारीमा छु’– शर्माले भने । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्यअनुसार ३ हजार २ सय रुपैयाँ आउँछ । बागलुङ नगरपालिका– ३, रातामाटास्थित सो फार्ममा पुग्ने जो–कोही दङ्ग परेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका २ पोथी पनि छन्, जसको तौल ८ किलो पुगेको छ ।

नाफा–घाटा हेर्दा बुढो होउन्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । पैंतालीस दिन कटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैंतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु ६ देखि ८ महिनासम्म हुने बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर