newskoseli.Com

‘साम्राज्यवादलाई जित्न एकताबद्ध होऔं, बैठकको अन्तिम तयारीमा छु’ : प्रचण्डको प्रष्टीकरण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ नेपालको एकता घोषणा तथा शपथग्रहण समारोहमा बोल्दै आफू बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताएका हुन् ।

पार्टी कामको चापले त्यति धेरै तयारी गर्न नपाएको समेत उनले बताए । सो पार्टीको केन्द्रीय कमिटीको बैठक माघ १५ देखि २० सम्मका लागि डाकिएको छ । अझै पनि सबै उत्पीडित वर्ग, जाति, समुदाय, भाषा पूर्णरूपमा मुक्त हुने अवस्था बनिनसकेको उनले बताए । ‘उत्पीडित समुदाय पूर्णरूपमा मुक्त हुने वातावरण अझै बनेको छैन,’ उनले भने– ‘एकताबद्ध भई शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबाट हामीले सोचे–खोजेजस्तो मुक्ति हासिल गर्न सक्छौं ।’

संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक स्वीकार गरेको उल्लेख गर्दै आदिवासी जनजातिको हक–अधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको उनले बताए । सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हक–अधिकार स्थापना भएको समाज निर्माण गर्ने उनले बताए ।

साम्राज्यवाद र सामन्तवादलाई परास्त गरेर युद्ध जित्नका लागि अझै एकताबद्ध भएर सामाजिक न्यायका पक्षमा लड्नु आवश्यक रहेको उनले बताए । बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले विविधतायुक्त मुलुकमा एकता कायम गर्न सबैलाई समान अधिकार दिइनुपर्ने उनको कथन छ । शोषण–उत्पीडनमा परेका समुदायलाई अगाडि ल्याउने वातावरण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र रहेको उनले उल्लेख गरे ।

जातीय कुरा गर्दा पुँजीवादीले जहिले पनि साम्प्रदायिक विध्वंस फैलाउने र जाति–जातिबीच लडाइँ सुरु गर्ने षडयन्त्रका रूपमा लिँदै आएको र अन्य मुलुकमा त्यस्ता जातीय द्वन्द्व भएको उल्लेख गर्दै कम्युनिस्टले भन्ने गरेको जातीय हक–अधिकारको कुरा त्यस्तो नभएको उनले बताए । ‘कम्युनिस्टले अगाडि सार्ने गरेको समाजवादी क्रान्ति र जातीय क्रान्तिको कुरालाई साम्राज्यवादीले जातीय सङ्कीर्णता, साम्प्रदायिकता र विद्वेष फैलाउने षडयन्त्रसँग मिलाउने गरेका छन्,’ उनले भने– ‘आदिवासी जनजाति महासङ्घले जातीय हक–अधिकारको कुरा साम्प्रादिक होइन, समानता र मुक्तिको कुरा हो भनेर बुझाउनु आवश्यक छ ।’ –रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर