newskoseli.Com

नेकपाकाे केन्द्रीय समिति बैठक सुरु : बिहीबारदेखि प्रतिवेदनमाथि समूहगत छलफल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ । बैठककै क्रममा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा सुरु बैठकमा १५ समूह विभाजन गरी बिहीबारदेखि प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

महासचिव विष्णुप्रसाद पौडेलले केन्द्रीय सदस्यहरुलाई समूहगत छलफलका लागि १५ समूहमा विभाजन गरेका छन् । ४ सय ४१ केन्द्रीय सदस्यलाई वर्णानुक्रमअनुसार विभिन्न १५ समूहमा विभाजन गरिएको छ । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बुधबार सातै प्रदेशका अध्यक्षले आ–आफ्ना प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेस हुन सकेन । बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तव्य दिएर बैठक आरम्भ गरे । प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि बैठक केही बेर स्थगित भएर बन्द सत्र सुरु भएको हो ।

यस्ताे छ कार्यविधि

छलफलका लागि बनाइएका १५ समूहमा सचिवालय सदस्य रहेका छैनन् । समूहका नेताले आ–आफ्नो समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि बनाइएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुनेछ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।

बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्न दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार समूहगत छलफलमा उठेका विषयमा आइतबार निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रब्य र दृश्य सङ्कलन गरिनेछ । बैठक माघ १९ सम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पार्टी एकतापछि पहिलो पटक कार्यसूचीसहितको दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४ सय ४१ सदस्यको सहभागिता रहने भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर