राजधानीको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको खुलेको हो । ढिलो सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भैसकेका छन् । वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उनका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे ।
यसपालि उनीहरु माघ ६ मा (२० जनवरीमा) पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को ‘ब्’ि र ‘सी’ मा बसेर उनीहरु आएको खुलेको छ । एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिए । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ सव्ँ ४ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यस बेलासम्म अपराधी भारततिर फरार भइसकेका थिए ।
प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उनले बताए । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् । उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ ।
होटलमा दैनिक १५ सय रुपैयाँ भाडामा बसेका उनी ट्राभल एजेन्ट भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको खबर राससले प्रेषित गरेको छ ।