नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । नवनियुक्त सीईओ रेग्मीले बिहीबार पदबहाली गरिसकेका छन् ।
बोर्डको सचिवालयमा बिहीबार आयोजित कार्यक्रमबीच सीईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवर्द्धनका कामलाई गति दिने उनले उल्लेख गरे ।
बोर्डको कार्यकारिणी समितिको माघ १४ को बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो । सीईओको कार्यकाल चार वर्षको हुनेछ । बोर्डमा पदबहालीपछि अब छिट्टै बोर्डका अध्यक्ष (पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी) ले सीईओसँग कार्यसम्पादन करार (सम्झौता) गर्ने जानकारी बोर्डका सचिवालयका सदस्य केबी शाहले दिएका छन् ।
जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका समेत अध्यक्ष हुन् । रासस