परिस्थितिले उब्जाएको समस्याका कारण आफू राजनीतिमा सक्रिय भएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताएका छन् । सो पार्टीले शनिबार सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष डा. राउतले भने– ‘म कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ ।’
मधेशका समस्याहरु अहिले पनि ज्युँकात्युँ रहेकाले राजनीतिविना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा. राउतको भनाइ छ । समृद्ध मधेशको परिकल्पनालाई साकार पार्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको दावी उनले गरे ।
मधेश आन्दोलनका नाममा ५४ जनालाई सहिद गराएर आफूलाई मधेशकेन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोप उनले लगाएको खबर राससले प्रेषित गरेको छ ।