सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवादमा जान सुझाव दिएको छ । राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहका नेताले आ–आफ्नो प्रतिवेदन पेस गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न समेत पार्टी नेतृत्व र सरकारलाई सुझाव दिए ।
समूहका ५ का नेता ठाकुर गैरे नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार पार्न सुझाव दिए । भ्रष्टाचार सबैभन्दा ठूलो समस्याका रुपमा रहेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने व्यवस्था गरेर नियन्त्रण गर्नुपर्ने सुझाव नेता गैरेले दिए । ‘घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टाजस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता–कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भन्ने नारालाई कमजोर बनाएको छ,’ उनले भने– ‘भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मत समेत प्रकट भएको छ ।’ नेकपाका नेता–कार्यकर्ताको जीवनशैली, चालचलन, आचारविचार, सरसम्बन्ध पूर्णरूपमा सरल र जनपक्षीय हुने कुरा सुनिश्चित गरिनुपर्ने कुरा नेता गैरेले आफ्नो प्रतिवेदनमा समेटेका छन् ।
समूह १५ का नेता हिमाल शर्माले मुलुकलाई समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट सुरुआत गर्नुपर्ने बताए । ‘पार्टीका नेताले नै शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन्, त्यो लगानी एक वर्षभित्र फिर्ता आउनुपर्दछ,’ उनले भने– ‘यदि त्यस्तो लगानी फिर्ता ल्याउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुपर्यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन नत्र पार्टीबाट हट्नुपर्यो । पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरीले अनिवार्य रुपमा सरकारी स्कुलमै पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ ।’
समूह ३ का नेता खिमलाल भट्टराईले मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचारविरोधी अभियान पार्टी र सरकारले सञ्चालन गर्नुपर्ने उनले बताए । भट्टराईले भने– ‘सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियान सञ्चालन गर्नु पर्दछ ।’
अरु क–कसले प्रस्तुत गरे प्रतिवेदन ?
अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आ–आफ्नो समूहगत प्रतिवेदन पेस गर्ने शुक्रबार सुरु भएको कार्य शनिबार सम्पन्न भएको छ । समूहका नेताले प्रतिवेदनमाथि टिप्पणी र सुझाव दिँदै समूहको तर्फबाट प्रतिवेदन पेस गरेका हुन् ।
शनिबार समूह ३ का नेता खिमलाल भट्टराई, समूह ४ का नेता जगन्नाथ खतिवडा, समूह ५ का नेता ठाकुर गैरे, समूह ७ की नेतृ पूर्णाकुमारी सुवेदी, समूह १२ की नेतृ रेणु दाहाल, समूह १ का नेता आनन्द पोखरेल, समूह ८ की नेतृ बिन्दा पाण्डे, समूह १० का नेता महेश बस्नेत, समूह ११ का नेता राजेन्द्र राई, समूह १४ का सुरेन्द्रकुमार (राम) कार्की र समूह १५ का नेता हिमाल शर्माले आ–आफ्नो समूहका तर्फबाट प्रतिवेदन पेस गरे ।
शुक्रबार समूह २ की नेतृ कमला रोका, समूह ६ का नेता दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ की नेतृ भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेस गरेका थिए ।
समूहगत प्रतिवेदनमाथि आइतबार पार्टीका शीर्ष नेताले जवाफ दिने जानकारी नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएका छन् । १५ माघदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबार सकिने कार्यतालिका रहेको खबर राससले प्रेषित गरेको छ ।