newskoseli.Com

चितुवाको आक्रमणबाट २० घाइते, गोठभित्रका ८ बाख्रा मारिए

फाइल तस्बिर

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आइतबार जैसिडिहीमा र शनिबार बेलुका गणेशस्थानका दुई जनालाई चितुवाले आक्रमण गरी घाइते बनाएको हो ।

आइतबार खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन गएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए । उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पुर्‍याउनुका साथै केहीको कान लुछेको छ । श्रेष्ठलाई उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ । एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुन सक्ने दुलालले बताए । घाइतेहरुको खोजी भइरहेको उनले बताए ।

यसैबीच, २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आइतबार अपराह्न चितुवालाई मारेका छन् । जैसिडिहीका बासिन्दालाई क्रमैसँग आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए ।

यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका वस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय वासिन्दा निकै चिन्तामा रहेका छन् । चितुवाले बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको भुम्लु गाउँपालिका– ७, टारका हरिहर उप्रेतीले बताए ।

गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अरुलाई घाँटीबाट रगत चुसेर मारेको उनले बताए । उनका अनुसार शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई वटा बाख्रा मारेको थियो । टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय वासिन्दा त्रसित रहेको उप्रेतीले बताए । उनले भने– ‘चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर