newskoseli.Com

कोरोनाग्रस्त वुहानबाट फर्काइएकालाई खरिपाटीमा राख्ने प्रयास, स्थानीय र दलहरुकाे अवरोध

चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी सरकारले गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् ।

स्थानीय वासिन्दा, नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्तलगायतले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने नेपालीलाई ल्याएर मानव वस्तीको बीचमा राख्न लागेको भन्दै विरोध गरेका हुन् । प्राधिकरणमा क्वारेन्टाइन बनाउनका लागि आउने टोलीलाई अनुगमन समेत गर्न नदिने भन्दै स्थानीय वासिन्दा र राजनीतिक दलका कार्यकर्ताले गेटमै बसेर विरोध गरेका हुन् ।

त्यसको विरोधमा स्थानीय वासिन्दाले बुधबारै चाँगुनारायण नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । भक्तपुरमा कुनै हालतमा क्वारेनटाइन राख्न नदिने भन्दै स्थानीय टोलीले कालो झन्डासहित नगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका हुन् । स्थानीय वासिन्दाले यसको विरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिँदै यसबारेमा माथिल्लो निकायमा जानकारी गराउने र नगरपालिकाको कार्यपालिका बैठकमा बुधबारै छलफल गरी आधिकारिक निर्णय गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनाले बताए ।

चीनबाट फर्काउने नेपालीमा कोरोना भाइरस हुन्छ नै भन्ने नभएको र भए पनि सुरक्षित उपचार गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरका अध्यक्ष वचन देउजाले बताए । सरकारले मानव वस्तीको बीचमा भन्दा पनि वस्तीबाट टाढा र शिवपुरीजस्ता शान्त एवं हरियाली क्षेत्रमा राखेर परीक्षण एवं उपचार गर्नु अझै प्रभावकारी हुने उनले बताए ।

अन्य क्षेत्रमा क्वारेन्टाइन राखेर चीनमा रहेका नेपालीको उपचार गर्न सरकारलाई सुझाव दिँदै कुनै हालतमा पनि चीनबाट फर्काइएका नेपालीलाई खरिपाटीमा राख्न नदिने नेपाली कांग्रेसका नेता एवं वाग्मती प्रदेशका सांसद कृष्णलाल भँडेलले बताए । यसमा पार्टीको विरोध रहेको बताउँदै मानव वस्तीको बीचमा ल्याएर उपचार गर्दा यहाँका वासिन्दामा जोखिम बढ्ने भन्दै कुनै हालतमा भक्तपुरमा राख्न नदिने उनले बताए ।

चीनबाट फर्किएका नेपालीलाई खरिपाटीस्थित प्राधिकरणको तालिम केन्द्रमा नराख्न कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं.– १ भक्तपुरले सरकारसँग आग्रह गरेको छ । घना वस्ती, खानेपानीका मुहान, खोलानाला छेउ यस्तो घातक अनि सरुवा रोगको अनुसन्धानस्थल नबनाउन क्षेत्रीय सभापति जीवन खत्रीको सभापतित्वमा बसेको बैठकले सरकारसँग आग्रह गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर