newskoseli.Com

झलनाथ कार्यदलले थाल्यो एमसीसीको अध्ययन–विश्लेषण

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा शुक्रबार साँझ बसेको कार्यदलको बैठकले आफूलाई दिइएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषण गर्ने प्रक्रिया थालनी गरेको जानकारी बैठकपछि कार्यदलका संयोजक एवं सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिएका छन् । वरिष्ठ नेता खनालले भने– ‘हामी कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनौं, तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौं ।’

कार्यादेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्ने संयोजक खनालले बताए । एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि ५६ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने बताइएको छ । पाँच वर्षको अवधिमा खर्च गर्नुपर्ने एमसीसीलाई सङ्घीय संसदले अनुमोदन गर्नु पर्नेछ ।

केही दिनअघि सम्पन्न नेकपा केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्न र एमसीसीलाई कसरी राष्ट्रहित अनुकूल बनाउने भन्ने सन्दर्भमा अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य छन् । उक्त कार्यदलको पहिलो बैठक माघ २० मा बसको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर