newskoseli.Com

पशुपतिबाट सुरु भयो ‘नमस्कार अभियान’ : शिवरात्रि र भ्रमण वर्षको प्रतीक !

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप ‘नमस्कार अभियान’ सुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्ष समेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नमस्कार गर्दा व्यक्ति–व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरोना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण फैलिएका बेला बच्न समेत सहयोग पुग्ने भएकाले पनि यो अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । नीति वचनमा पनि ‘अभिवादन शीलस्य नित्यं वृद्धोपसेविनः । चत्वारि तस्य वर्धन्ते आयुविद्या यशो बलम् ।।’ अर्थात्, आफूभन्दा अग्रजलाई नित्य नमस्कार गर्ने र ज्येष्ठ नागरिकको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्छ भनिएको छ ।

नमस्कार संस्कारलाई नेपालीको घर–घर र मन–मनमा पुर्‍याउन कोषले अभियान सुरु गरेको उनले बताए । ‘अभियान सुरु गरिसकेपछि हामी किराँतेश्वर सङ्गीत आश्रमको औपचारिक कार्यक्रममा गएका थियौं, त्यहाँ हामीले कसैसँग हात मिलाएनौं, सबैलाई नमस्कार गर्‍यौं, यसलाई सबैले सहर्ष स्वीकार गर्नुभयो, त्यस कार्यक्रममा सहभागीले पनि हात नमिलाई नमस्कार अभिवादनमै लाग्ने प्रतिबद्धता जनाउनुभयो’– सदस्य सचिव ढकालले भने ।

यस वर्षको महाशिवरात्रिदेखि ‘नमस्कार गर्ने अभियान’ लाई निरन्तरता दिइने कोषले जनाएको छ । नेपालीले आफ्ना संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कारलाई नै आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान सुरु गरिएको हो । यो अभियान सुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न आह्वान गरिएको कोषले जनाएको छ ।

कोषले २०७४ चैत २० देखि पशुपति क्षेत्रबाट मगन्तेरहित अभियान सुरु गरेको थियो । त्यसलाई अहिले काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभर लागू गरिरहेको छ । रचनात्मक कामको सुरुआत पशुपति क्षेत्रबाट भएको भन्दै दर्शनका लागि त्यहाँ पुगेका मुगुका चन्द्रमान मल्लले स्वागत गरे । अरू पनि यस्ता राम्रा कामको शुभारम्भ पशुपतिबाट हुने आशा गरिएको उनले सुनाए ।

पशुपति क्षेत्रमा आइतबार ‘नमस्कार अभियान’ मा सहभागी भएकी बझाङकी निर्मला नेपालीले यस्ता अभियानबाट राष्ट्रियता र राष्ट्रिय भावनाको विकासमा समेत योगदान पुग्ने प्रतिक्रिया दिइन् । संस्कार र संस्कृति बिर्सिएर नाराले मात्र राष्ट्रियता प्रवर्द्धन नहुने भएकाले यस्ता रचनात्मक काममा लाग्नुपर्ने उनले बताइन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर