newskoseli.Com

पतिकै अगाडि पत्नीमाथि बलात्कार, १२ वर्षपछि अपराधी पक्राउ

पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका– ११, इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ र्वएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए ।

उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । ढिलै भए पनि न्याय पाउने सम्भावना बढेको पीडितले बताएका छन् । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे’– पीडित दम्पतीले भने ।

इनरुवामा मजदुरी गरेर दसैं मनाउन हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि २०६४ असोज २९ गते राति आक्रमण गरेका थिए । दुवै जनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँ समेत लुटेका थिए । पीडितले २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सगरमाथा अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो । बलात्कार पुष्टि भएपछि दम्पतीले सप्तरी जिल्ला अदालतमा बकपत्र गरे । सप्तरी जिल्ला अदालतले हरिनारायणलाई जबरजस्ती करणी र चोरी मुद्दामा ०६५ चैत ११ मा १ वर्ष ६ महिना कैद सुनायो ।

घटना भएका बेला आफू भारत पञ्जाबमा मजदुरी गरिरहेकाले घटनामा संलग्न नभएको दाबी गर्दै ०६७ असार १७ मा अभियुक्त अदालतमा हाजिर भए । खटरको समेत बयानपछि अदालतले २०६७ फागुन १२ मा दुवै जनालाई सफाइ दियो । हरिनारायणलाई कम सजाय र खटरलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पीडितले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निवेदन दिए । अदालतले ०७१ मंसिर २९ मा हरिनारायणलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने तथा खटरलाई १ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला सुनायो ।

उक्त फैसलाविरुद्ध ०७३ चैत २५ मा दुवै जनाले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै सफाइको माग गरे । गत जेठ १ मा सर्वोच्चका तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले पीडितका पक्षमा निर्णय सुनाएपछि अपराधी फरार भएको खबर मनोहर पोखरेलको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर