newskoseli.Com

‘घुमौं भरतपुर’ भन्दै कार र्‍याली

भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले शनिबार कार र्‍यालीको आयोजना गर्‍यो । भरतपुरबाट लुम्बिनीसम्म कार र्‍यालीको आयोजना गरिएको हो ।

नारायणी नदी किनारमा चितवन– २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी र महानगर प्रमुख रेनु दाहालले संयुक्तरुपमा र्‍यालीको आरम्भ गरे । र्‍यालीमा १५४ कार सहभागी भएको महानगर प्रमुख दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

र्‍यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्वागत गरेको छ । र्‍यालीलाई गैंडाकोट नगरपालिका, बुटवल उपमहानगरपालिकालगायतका स्थानीय तहले पनि स्वागत गर्‍यो । लुम्बिनी घुम्न आउने पर्यटकलाई भरतपुर महानगरका पर्यटकीय गन्तव्यमा आकर्षण गर्ने उद्देश्यले प्रचारप्रसार गर्न र्‍यालीको आयोजना गरिएको जानकारी महानगर प्रमुख दाहालले दिइन् । र्‍यालीमा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, पर्यटन व्यवसायीलगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

महानगरभित्र २९ मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक र नारायणी नदीबीच मोडल तथा चौकीडाँडा गरी प्रमुख सात केन्द्र महानगरका पर्यटकीय केन्द्र रहेका छन् । सङ्घीय सरकारका १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारका १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ ।

महानगरले पर्यटन प्रबर्द्धनका लागि चालू आर्थिक वर्षमा ३२ कार्यक्रम गर्ने योजना बनाइएकामध्ये हालसम्म १० कार्यक्रम सम्पन्न भइसकेको जानकारी महानगर प्रमुख दाहालले दिइन् । भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको समेत व्यवस्था गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर