newskoseli.Com

‘पत्रकारिता र पार्टीका काम बराबरी गर्नोस्’ : पत्रकारलाई ईश्वर पोखरेलको ‘पाठ’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘दक्षता बढाउन’ नेकपाका ‘पत्रकार’ कार्यकर्तालाई सुझाव दिएका छन् । सो पार्टीको भ्रातृसंगठन प्रेस सङ्गठन नेपालकाे प्रदेश– १ कमिटीले शनिबार इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा बोल्दै ‘पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने’ उनले बताए ।

यतिबेला मुलुकमा सरकार परिवर्तन मात्र भएको नभई प्रणाली नै परिवर्तन भएको दावी गर्दै सरकारले निर्माणको कामलाई अघि बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए । ‘कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौं, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौं, विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौं’– उनले दावी गरे ।

सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै एउटा–एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुने उनले बताए । सोही कार्यक्रममा बोल्दै उक्त पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यले जनतालाई सही सूचना पुर्‍याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा बोलेका प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।

कार्यक्रममा नेकपाको प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश– १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ प्रदेश– १ का अध्यक्ष विक्रम लुइँटेलले शुभकामना मन्तव्य राखे । प्रेस सङ्गठन प्रदेश– १ का संयोजक राजन केडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सातबुँदे ‘इटहरी घोषणापत्र’ समेत जारी गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर